FAQs Complain Problems

‘सुन्दरबजार नगरपालिका र विकास’ विषयक छलफल कार्यक्रम सम्पन्न

लमजुङको सुन्दरबजार नगरपालिकालाई सुन्दर बनाउन कृषि र पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा विज्ञहरुले सुझाव दिएका छन् ।‘सुन्दरबजार नगरपालिका र विकास’ विषयक छलफल कार्यक्रममा बोल्दै विज्ञहरुले यस्तो सुझाव दिएका हुन् । सुन्दरबजार नगरपालिकाको गुरुयोजना बनाउनु पूर्व विज्ञहरुको राय लिनका लागि नगरपालिकाले काठमाडौँमा विज्ञसहितको छलफल कार्यक्रम सञ्चालन गरेको हो ।छलफलमा विशेषगरीः जन्मथलो सुन्दरबजार नगरपालिका रहेका काठमाडौँमा बस्दै आएका विभिन्न क्षेत्रका विज्ञहरु सहभागि थिए । लमजुङ र छिमेकी जिल्ला तनहुँका केही विज्ञहरु समेत छलफलमा सहभागी भएका थिए । 

राष्ट्रिय योजना आयोगका सदस्य डा. दीलबहादुर गुरुङले कृषि, ऊर्जा र पर्यटन विकासको उच्च सम्भावना बोकेको जिल्ला लमजुङ रहेको बताउनुभयो । लमजुङको सुन्दरबजार नगरपालिकामा कृषिको विकास गर्नु जरुरी रहेको उहाँले बताउनुभयो । ‘खेतीयोग्य जमिनलाई जोगाउँदै कृषि उत्पादनमा नगरपालिकाले जोड दिनुपर्छ,’ उहाँले भन्नुभयो ।

कृषि विज्ञ सूर्यबहादुर सिंहले सुन्दरबजार नगरपालिका क्षेत्रमा कृषि र पर्यटन विकासको उच्च सम्भावना रहेको उल्लेख गर्नुभयो । ‘यहाँ उर्वभरभूमी जमिन प्रशस्त छन् । सिँचाईका लागि नदीनाला छन् । तर गाउँघरका जग्गा जमिन बाँझै छन् । आशातित रुपमा कृषि क्षेत्रको विकास भएको छैन । यहाँ ऐतिहासिक एवम् धार्मिक क्षेत्रहरु छन् । कृषि र पर्यटनको मात्रै विकास गर्न सके सुखी नगरबासी, समृद्ध सुन्दरबजार नगरपालिका बनाउन सकिन्छ,’ उहाँले आफ्नो राय राख्नुभयो ।  युवालाई गाउँमै राख्न सके मात्रै कृषि विकासको परिकल्पना गर्न सकिने उहाँको धारणा छ । उहाँका अनुसार सबैभन्दा पहिले बजार खोजी व्यावसायिक कृषि कर्ममा जुट्नु आवश्यक छ ।संघ र प्रदेश सरकारको सहयोगले मात्रै कृषि क्षेत्रको विकास गर्न नसकिने हुँदा दातृ निकायको पनि सहयोग भित्र्याएर नगरपालिकाले कृषि र पर्यटनको क्षेत्रमा काम गर्नुपर्ने उहाँको भनाई छ ।

पूर्व सचिव सुरेशमान श्रेष्ठले सुन्दरबजार नगरपालिका लोक सँस्कृति, कृषि, शिक्षाका दृष्टिले अग्रणी ठाउँ रहेकाले यहाँ पर्यटन विकास गरी नगरपालिकाको मुहार फेर्न सकिने तर्क राख्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले नगरपालिकाको समृद्धिको आधार नै कृषि रहेको धारणा राख्नुभएको छ । बञ्जर रहेका यहाँका उर्वरभूमीलाई हराभरा पार्नु आवश्यक रहेको बताउँदै उहाँले कृषिमा आधारित उद्योग स्थापनातर्फ पनि नगरपालिकाको ध्यान खिचिनुपर्नेमा उहाँको जोड छ । 

कृषि क्षेत्रमा काम गरिरहनुभएका हरिबहादुर केसीले नगरपालिकाले कृषि र वन उत्पादनका क्षेत्रमा लगानी बढाउन सुझाव दिनुभएको छ । योजनाविद् डा. पूर्णकान्त अधिकारीले कृषि क्षेत्रमा युवाको आकर्षण बढाई यहाँको विकास गर्न सकिने धारणा राख्नुभयो ।पुनर्निर्माण विज्ञ विष्णु अधिकारीले नगरपालिकाले साना उद्योग स्थापनाका लागि उद्योगीलाई सहयोग गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।नदीले बेरिएको, उर्वरफाँट रहेको, ऐतिहासिक एवम् पर्यटकीय क्षेत्रहरु रहेको बताउँदै सुन्दरबजारको विकासमा आफुले आफ्नो सीप, क्षमता खर्चिने धारणा राख्नुभएको छ । 

प्रतिनिधिसभा सदस्य एवम् नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले सुन्दरबजार आफैँमा विकासको सम्भावना बोकेको नगरपालिका रहेको बताउँदै यसको श्रीवृद्धिमा आफुले हरदम सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।  कार्यक्रममै राष्ट्रियसभा सदस्य ईन्दु कडारिया, जिसस लमजुङका संयोजक लोकराज पाण्डे, पूर्व सांसद डा. भीष्मनाथ अधिकारी, काशिनाथ अधिकारी, भुगोलविद् हरिप्रसाद भट्टराई लगायतले आ–आफ्नै धारणा राखेका थिए ।   

अबको ५० वर्षपछिको सुन्दरबजार नगरपालिकाको खाका अहिल्यै नै कोरी त्यसै मार्गमा हिँड्नु आवश्यक रहेको नगरपालिकाका मेयर जनकराज मिश्रले बताउनुभयो । विज्ञहरुबाट प्राप्त सुझावलाई सम्पत्तिकै रुपमै ग्रहण गरी अझै सरोकारवालासंग व्यापक छलफल गरी नगरको गुरु योजना बनाइने उहाँले उल्लेख गर्नुभयो ।

विभिन्न कठीनाई भएता पनि सुन्दरबजारलाई सुन्दर बनाउनका लागि विज्ञबाट प्राप्त अमूल्य रायलाई समेट्दै नगर विकासमा जुट्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज गिरीले बताउनुभयो ।कार्यक्रममा जिल्ला समन्य समितिका उपसंयोजक धनकुमारी तामाङ, नगरकी उपप्रमुख ज्ञानु शाह लगायतका नगर कार्यपालिकाका सदस्य, वडाअध्यक्ष, राजनैतिक दलका प्रतिनिधि लगायत सरोकारवालाको बाक्लो सहभागिता रहेको थियो ।

-श्यामशितल परियार , रेडियो भोटेवडार